
क्यानडा–नेपालीमुलका प्रोफेसर डा. तुलसी धरेललाई क्यानडामा ‘किङ चाल्स थर्ड कोरोनेशन’ पदकबाट सम्मानित गरिएको छ ।
क्यानेडियन मल्टी कल्चरल काउन्सिलमा बहुसांस्कृतिकता र नेतृत्व प्रवर्द्धनमा गरेको योगदानको सम्मानमा बेलायतका राज चाल्स तृतीयको राज्याभिषेकको उपलक्ष्यमा उनलाई अन्टारियो प्रोभिन्सले पदक प्रदान गरेको हो ।
टोरन्टोमा प्रोभिन्सका प्रिमियर डग फोर्डको उपस्थितिमा आयोजित समारोहमा त्यहाँका सोलिसिटर जनरल माइकल एस। कर्जनरले पदक प्रदान गरेका थिए । धरेल अन्नपूर्ण मिडिया नेटवर्कले युवा उद्यमीहरुका उत्पादनहरूलाई प्रवर्द्धन गर्न सञ्चालन गरिरहेका ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानका प्रमुख प्रशिक्षक समेत हुन् ।
‘किङ चाल्स थर्ड कोरोनेसन पदकबाट सम्मानित हुन पाउनु मेरा लागि गौरव हो’, धरेलले भने । प्रवासी नेपालीका रूपमा क्यानडामा बसोबास गरेका मध्ये यो पदक पाउने उनी पहिलो नेपालीमुलका हुन् ।
नेपालको चितवनमा जन्मिएका डा. धरेल क्यानेडियन मल्टी कल्चरल काउन्सिलका वर्तमान अध्यक्ष तथा टोरन्टोको सेन्टेनियल कलेजका प्रोफेसर हुन् ।