काठमाडौं । सरकारको आरक्षणको नीतिविरुद्धको विद्यार्थी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर शेख हसिना भागेपछि नयाँ अन्तरिम सरकारको नेतृत्व नोबेल पुरस्कार बिजेता तथा लघुवित्त अभियान्ता मोहम्मद युनुसले गर्ने संभावना बढेको छ ।
हसिना देश छोडेर भारतमा निर्वासित भएपछि बंगलादेशको सत्ता सेनाले सम्हालेको छ । सेनाले अन्तरिम सरकारको प्रधानमन्त्री युनिसलाई बनाउन खोजेको हो । उनी एक अर्थशास्त्री पनि हुन् । उनी नेपाल पनि आएका थिए । बंगलादेशमा अहिले संसद पनि विघटन भइसकेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शरण दिएका हसिनालाई मोदीले नै लामो समयदेखि साथ र समर्थन जनाउँदै आए पनि पश्चिमाहरु भने उनीदेखि रुष्ट थिए । सोही कारण अमेरिकाले हसिनालाई अहिले प्रवेशाज्ञा दिन पनि अस्वीकार गरेको छ ।
गत जनअरीमा भएको निर्वाचनपछि गठित संसद्बाट हसिना तेसो पटक भारी मतले प्रधानमन्त्री बनेकी थिइन् । तर विद्यार्थीले सुरु गरेको आन्दोलन हिंसात्मक हुँदा बाङ्ग्लादेशमा चार सय जना भन्दा धेरैको मृत्यु भएपछि उनले सेनाको समेत साथ पाउन असफल भएकी हुन् ।
सन् १९७० को दशकमा लघुवित्तको थालनी गर्ने युनुसको अभियानले बंगलादेशी कतिपय मानिसहरूलाई गरिबीको चरम अवस्थाबाट माथि उठ्न सहयोग पुगेको विश्वास गरिन्छ । तर हसिनाले भने गरिवहरुको रगत चुसेर युनुसले व्यापार गरेको आरोप लगाउँदै आएकी थिइन् । उनले राजनीतिक दल बनाउने प्रयास गरे पनि हसिनाले रोकेकी थिइन् ।
हसिनाको बहिर्गमनसँगै बाङ्ग्लादेशमा राजनीतिक अन्योलता कायम रहेको बेला विपक्षी नेतृ बेगम खालेदा जिया रिहा भएकी छन् । हसिनाले निरंकुश शासन चलाउन थालेसँगै जिया जेल पुगेकी थिइन् ।
विद्यार्थी आन्दोलनसँगै बंगलादेशमा व्याप्त अन्योलता र अस्थिरतालाई युनुसले सम्हाल्नसक्ने भन्दै कतिपयले प्रतिक्रिया जनाइरहेको बीबीसीले जनाएको छ । आन्दोलनरत विद्यार्थी पनि उनको पक्षमा रहेको जनाइएको छ । युनुस प्रधानमन्त्री हुँदा पश्चिमाहरुले पनि समर्थन जनाउने देखिए पनि छिमेकी भारतले समर्थन नगर्नसक्ने संभावना देखिन्छ । हसिना भागेर गएपछि युनुसले ‘बंगलादेश मुक्त भएको’ प्रतिक्रिया दिएका थिए ।