
तनहुँ । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् ।
कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालयका उपसचिव डा थानेश्वर भुषाल, दूतावासका कर्मचारी सहित नेपाली सङ्घ-संस्थाका प्रतिनिधि, गैर आवासीय नेपाली संघका प्रतिनिधि र श्रमिकहरूको सहभागिता थियो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको बताए । श्रम अधिकार तथा नेपाली श्रमिकको सीप विकासका विषयमा युएईका मानव संशाधन मन्त्री डा.अव्दुलरहमान अव्दुलमानन अल अवारसँगको भएको छलफल उपलब्धिमुलक भएको मन्त्री श्रेष्ठले बताए ।
कार्यक्रममा युएईमा श्रम, सीप तथा लगानीको क्षेत्रमा रहेका अवसर र चुनौतीबारे छलफल भएको थियो ।
नेपालको महत्त्वपूर्ण श्रम गन्तव्यका रुपमा रहेको युएईमा २ लाख भन्दा धेरै नेपाली कार्यरत छन् । नेपाली श्रमिकहरूले कोभिड महामारीका कारण परेको समस्याका साथै श्रम सम्झौताको प्रभावकारी कार्यान्वयनको विषयमा ध्यानाकर्षण गराएका थिए । आबुधाबी डायलगको छैटौँ मन्त्रीस्तरीय बैठकमा सहभागी हुन युएई गएका मन्त्री श्रेष्ठ नेतृत्वको टोली शनिवार स्वदेश फर्कने कार्यक्रम छ ।