२१ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुल बराबरीमा रोकिएको छ । ६ गोल ‘थ्रिलर’ मा लिभरपुल लिड्स युनाइटेडसँग ३-३ को बराबरीमा रोकिएको हो ।
खेलका सबै गोल दोस्रो हाफमा भएका थिए । लिभरपुलले दुई गोलको अग्रता लिएर पनि बराबरी भएपछि फेरि लिएको अग्रता पनि जोगाउन सकेन ।
खेलको ४८औं र ५०औं मिनेटमा ह्युगो एकिटिकले गोल गर्दै लिभरपुललाई दुई मिनेटभित्र दुई गोलको अग्रता दिलाएका थिए ।
७३औं मिनेटमा डोमिनिक क्यालभर्ट लेविनले पेनाल्टीमार्फत गोल गरे भने त्यसको दुई मिनेटमा एन्टन स्टाकले गोल गरेपछि लिड्सले खेल बराबरीमा ल्यायो ।
८०औं मिनेटमा डोमिनिक सोबोस्लाइले गोल गरेपछि लिभरपुल फेरि खेलमा अगाडि आयो ।
तर इन्जुरी समयको छैटौं मिनेटमा लिड्सका एओ तनाकाले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।
बराबरीपछि लिभरपुल १५ खेलबाट २३ अंकसहित आठौं स्थानमा छ भने लिड्स १५ अंकसहित १६औं स्थानमा छ । अनलाइनखबर















