
तनहुँ
आज ४३ औ मगर दिवस । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा पहिलो पटक स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । प्रथम महाधिवेशन भएको आज ४२ वर्ष पूरा भएर ४३औं वर्षमा प्रवेश गरेको छ । आज देश तथा विदेशमा रहेका मगर समुदायले हर्षोल्लासका साथ मगर दिवस मनाइरहेका छन् । २०३९ मा मगर संघको पहिलो महाधिवेशन भए तापनि त्यस अघिदेखि नै मगरहरु विभिन्न ढंगले संगठित हुँदै आएको तथ्यांक पाइन्छ ।
मगरहरुको सांगठनिक रुपले गोलबन्द भएको दिनको रुपमा विश्वभरमा सांगठनिक पर्वको रुपमा मनाउँदै आइरहेका छन् । मगर दिवसमा एकापसको सम्बन्ध विस्तार, हार्दिकता, एकतालाई थप मजबुत गर्दै मगरहरुको गुमेको राजनैतिक अधिकारहरु स्थापना गर्न, गुमेको मगरात भूमि पुनःस्थापना गराउन, भाषिक सांस्कृतिक अधिकारहरु सुनिश्चित गराउन, जातीय आधारमा राज्यको सबै तह र तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्व गराउनेलगायतका सवालमा सशक्त आन्दोलन गर्नमा थप ऊर्जा र उमंग दिने मगर अगुवा केयर सिंह आलेले बताए ।
तनहुँका दशै स्थानीय तहमा बिदा
४३ औं मगर दिवसको उपलक्ष्यमा तनहुँका दश वटै स्थानीय तहले फागुन १५ गते सार्वजनिक बिदा दिएका छन् । नगरपालिका तथा गाउँपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी बिदा दिएका हुन् । स्थानीय तहको पालिका कार्यालय,वडा कार्यालय,स्वास्थ्य संस्था तथा सम्पूर्ण सार्वजनिक संघसंस्था बिदा गर्ने निर्णय गरेका हुन् । यस जिल्लामा मगर समुदायको बाहुल्यता रहेको छ । जिल्लाको व्यास नगरपालिका, शुक्लागण्डकी, भानु नगरपालिका, भीमाद नगरपालिका, आँबुखैरेनी, ऋषिङ, घिरिङ,म्याग्दे र देवघाट गाउँपालिकाले बिदा दिएका हुन् । राष्ट्रिय जनगणना २०७८ अनुसार तनहुँको कुल जनसंख्या ३ लाख २७ हजार ६ सय २० पुगेको छ । जसमध्ये एक लाख सात हजार मगर समुदायको जनसंख्या रहेको नेपाल मगर संघ तनहुँका जिल्ला समन्वय समितिका उपाध्यक्ष हर्कबहादुर थापाले जानकारी दिए ।
२०६८ सालको जनगणनाअनुसार देशभर मगरको जनसंख्या १९ लाख रहे पनि संघले ३० लाख रहेको दाबी गर्दै आएको छ । यही दिनलाई संघले सार्वजनिक बिदा र प्रथम सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै आएको छ । फागुन १५ मा सार्वजनिक बिदा, लखन थापालाई राष्ट्रिय विभूति, मगर समुदायको भाषा, संस्कृति संरक्षणमा उचित बजेट र आईएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि९सम्झौताहरुको पूर्ण पालना गर्नुपर्ने माग गर्दै आएको संघले ज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउँदै छ । मगर समुदायको आफ्नै मौलिक भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, रीतिरिवाजमात्रै नभई आफ्नै ऐतिहासिक भूमि र क्षेत्र रहेको मगर अगुवाहरु बताउछन् । स्थापना दिवसमा भेषभुषाको झाँकीसहित बृहत र्याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।