तनहुँ — सिद्धार्थ बिजेसन ग्रुप अफ हस्पिटालिटीको व्यवस्थापनमा तनहुँको दमौलीमा तीन तारे ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । सुविधा सम्पन्न होटल औपचारिक रूपमा बिहीबारदेखि सञ्चालनमा आएको हो ।
सिद्धार्थ हस्पिटालिटीअन्तर्गत पाँच तारेमा सिद्धार्थ भिलासा, चार तारेमा सिद्धार्थ वैभव र तीन तारेमा सिद्धार्थ बाटिका ब्राण्डका होटल सञ्चालनमा छन् । जसमध्ये दमौलीको होटल सिद्धार्थ बाटिका अन्तर्गतको ब्राण्डमा पर्दछ ।
होटल र दुई वटा फिल्म हल रहेको यो परियोजनामा करिब एक अर्ब रुपैयाँ लगानी भएको ऐपेक्स हस्पिटालिटीका कार्यकारी प्रमुख सुशील न्यौपानेले बताए । होटलको निर्माण एपेक्स हस्टिपालिटीले र व्यवस्थापन सिद्धार्थ ग्रुपले गरेको हो । उनले भने, ‘नेपालकै ठूलो हस्पिटालिटी सञ्जाल, अन्तर्राष्ट्रियस्तरको सेवा, विश्वसनियता तथा कुशल व्यवस्थापनका कारण होटल व्यवस्थापनका लागि सिद्धार्थ ग्रुपसँग सहकार्यका गरिएको हो ।’
होटलमा सुविधासम्पन्न कुल ३४ वटा कोठा छन् । त्यसबाहेक करिब एक सय ५० जना क्षमताको एउटा हल र करिब ४० जना अट्ने दुई हल रहेको सिद्धार्थ हस्पिटालिटीका कार्यकारी प्रमुख कृष्ण न्यौपानेले बताए । उनले भने, ‘ती हलमा सभा, सम्मेलन, विवाहलगायत पार्टी तथा भोज गर्न सकिने छ ।’
तीन महिनाको अध्ययनपश्चात् होटल स्थापना गरिएको न्यौपानेले बताए । ‘यहाँस्तरीय होटलको आवश्यकता महसुस गरी सिद्धार्थ होटल सञ्चालनमा ल्याइएको छ । होटलमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनेछौ’, उनले भने, ‘पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटीको सेवा सञ्जालमा कुल २ हजारभन्दा बढी जनशक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् भने दमौलीको होटलमा ४० जनाले रोजगारी पाएका छन् ।’
नेपालको पर्यटन क्षेत्रका बहुचर्चित गन्तव्यहरु पोखरा र बन्दीपुरको बीचमा रहेको दमौली आफैंमा विविधतापूर्ण र प्रचुर पर्यटकीय सम्भावना भएको ठाउँ हो । महर्षी वेदव्यासको तपोभूमि, बादलमाथिबाट सूर्यादय देखिने मानुहुँकोट डाँडा, मत्स्यकन्यालाई पूजिने छाब्दिबाराही र दमौलीको शीरमा अवस्थित तनहुँ कालिकासँगै आदिकवि भानुभक्तले प्रेरणा पाएको घाँसीकुवा जस्ता ऐतिहासिक र पुरातात्विक महत्त्वका पर्यटकीय गन्तव्यमा आउने पर्यटकसमेतलाई स्तरीय सुविधा प्रदान गर्न होटल सञ्चालनमा ल्याइएको बताइएको छ ।
पृथ्वी राजमार्गले छिचोलेको तनहुँको सदरमुकाम दमौलीको मेन चोकमा रहेको होटल काठमाडाौबाट एक सय ५० किलोमिटर पश्चिम र पोखराबाट ५० किलोमिटर पूर्वमा अवस्थित छ । होटलमा न्यूनतम ५ हजारदेखि १५ हजार रुपैयाँसम्मका कोठा छन् । उद्घाटनको अवसरमा कोठामा ३० प्रतिशत र खानामा २० प्रतिशट छुटको व्यवस्था गरिएको जनाइएको छ ।
होटलमा अल डे डाइनिङ रेष्टुरेन्ट, बार रेष्टुरेन्ट र सिद्धार्थ क्याफे छन् । होटल रहेको भवनमा क्यूएफएक्स सिनेमा हल समेत भएकाले आगन्तुकले मनोरञ्जन र आतिथ्य एकै स्थानमा पाउने एपेक्स हस्पिटालिटीले जनाएको छ ।