images
images
images

वीरेन्द्र तालस् हिउँ बसेको पहाड नै खसेको हुनसक्छ

images

काठमाडौँ । गोरखाको वीरेन्द्र तालमा आज बिहानदेखि अचानक अत्यधिक पानी थपिँदै गएपछि तालको निकास बिन्दुबाट पानी बाहिर बगिरहेको छ । अत्यधिक मात्रामा बाहिर बगेको पानी बुढीगण्डकी नदीमा पसेपछि सतह बढेको छ भने नदीको तटीय क्षेत्रका गाउँहरूलाई सतर्क गराइएको छ ।

के यो हिमपहिरो हो ?
हिमताल विशेषज्ञ र जलवायुको प्रवृत्तिबारे जानकार व्यक्तिहरू वीरेन्द्र तालमा पानीको मात्र बढोत्तरी भएको विषयलाई हिमपहिरो झरेको नै मानिरहेका छन् । उनीहरूको प्रारम्भिक विश्लेषण अनुसार, पहिलादेखि नै रहेका हिमताल र हिउँ पग्लेपछि बन्ने गरेका तालको प्रकृति फरक हुन्छ । वीरेन्द्र ताल हिमताल हो । आज यसमा थपिएको अत्यधिक पानी चाहिँ हिउँ पग्लेर थपिएको हो । यो मौसम हिउँ पग्लिने मौसम भएकाले यसलाई अस्वाभाविक मान्न नसकिने भए पनि हिउँ कसरी पग्लियो भन्ने पक्ष भने विश्लेषण हुनुपर्ने उनीहरूको भनाई छ ।

यो मौसममा हिउँ माथिल्लो सतहबाट बिस्तारै पग्लिँदै बग्ने गर्छ, यो हिउँ पग्लिने नियमित प्रवृत्ति हो । तर, कहिलेकाहीँ भने हिउँ जमेर बसेको जग नै धसिएर झर्ने गर्छ, जसलाई हिमपहिरो पनि भनिन्छ । जमिनको सतहभित्र पग्लिएको हिउँको तरल पदार्थ पसेर जमिनको जग कमजोर पारिदिनाले पहिरो खस्ने गर्दछ । यस्ता घटना भइरहने विज्ञहरूको भनाई छ ।

हिमपहिरो विज्ञ सुदीप सिंह ठकुरीले वीरेन्द्र ताललाई हिमताल नै भएको बताउँदै ताल क्षेत्र वरिपरिको भिरालो जमिन र खोँचमा सतहभित्र पानी पसेर हिउँ जमेर बसेको जमिनको ठुलो ढिक्का तालमा खसेको हुनसक्ने अड्कल काटे । यतिबेला सुर्खेत पुगेका ठकुरीले आफू पनि जिज्ञासापूर्वक वीरेन्द्र तालको घटनाको थप विवरण जान्न आतुर रहेको बताए ।

ठकुरीका अनुसार, तापक्रम बढ्दैजाने मौसम भएकाले हिउँ पग्लिनु कुनै अनौठो कुरा नभएपनि हिउँ जमेर बसेको जमिनको ठुलो हिस्सा नै खसेको हो भने यो फरक विषय भएको बताए ।

जलवायु विशेषज्ञ ङमीन्द्र दाहाल जलवायु परिवर्तनपछि तापक्रमको नियमित सन्तुलन खलबलिएकाले हिउँ पग्लिने प्रवृत्ति पनि फेरिएको बताउँछन् । हिमताल र हिउँ झरेपछि जमेर बनेको ताल फरक हो भन्दै दाहाल ताल फुटको नभएर अचानक थपिएको पानी भरिएर बाहिर बगेको हुनसक्छ भन्छन् ।

यसरी राखियो नाम
गोरखाको उत्तरमा अवस्थित छ वीरेन्द्र ताल । पदयात्रामा जाँदा मनास्लु क्षेत्रमा पर्ने यो ताल आन्तरिक र विदेशी पर्यटकको रोजाइमा पर्ने गन्तव्य पनि हो । यही मार्गको सामागाउँ नजिक छ वीरेन्द्र ताल । समुद्र सतहबाट ३ हजार ६ सय ९१ मिटर उचाइमा रहेको यो ताल विसं २०३४ सालमा तत्कालीन राजा वीरेन्द्रको सवारीपछि गाउँलेले उनकै सम्मानमा तालको नामकरण गरिदिए, ‘वीरेन्द्र ताल’ । यसअघि यो तालको नाम थियो ‘यमछो’ । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफा यो क्षेत्रको अवलोकनमा गएका थिए, गाउँलेले उनको मानखातिर स्थानीय पङ्बोछे डाँडालाई ‘रोयल बहराइन पिक’ भनेर नामै राखिदिए ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS