अशोक विश्वकर्मा
चैत्र २९ तनहुँ ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाका दलित अगुवाहरुले सामाजमा जातीय रुपमा हुने विभेदमा न्यूनिकरण नभएको गुनासो गरेका छन् । राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्काेटी समक्ष यहाँका दलित अगुवाहरुले समाजमा हुने विभेद फरक तरिकाबाट विकास भईरहेको भन्दै ध्यानाकर्षण गराए ।
शुक्लागण्डकी नगरपालिकामा आयोजना गरिएको अन्तरक्रियाका क्रममा नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजुले जातीय तथा लैंगिक रुपमा हुने विभेद अन्त्यका लागि पहल भईरहेको जानकारी दिए । ‘हामीले केही फरक तरिकाबाट विभेद अन्त्यको प्रयास गरेका छौँ’ उपप्रमुख विकले भन्नुभयो ‘जोडी सचेतना र सजातीय कार्यक्रम गर्ने तयारीमा रहेका छौँ, यो पहलले केही परिवर्तनको अपेक्षा छ ।’
अन्तरक्रियाका क्रममा विद्यालय विद्यालय सञ्चालक तथा ब्यवसायि प्रेमकुमार परियारले ब्यक्तिको कामलाई जातसँग जोडेर तुलना गर्ने समस्याका कारण दलित समुदायले न्याय नपाएको गुनासो गर्नुभयो । उहाँले नगरपालिका लगायतका सरोकार राख्ने निकायले मानव अधिकारको पक्षमा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।
पुर्व कार्यपालिका सदस्य तथा दलित समुदायका अगुवा भरत लामगादेले गैरदलित जनप्रतिनिधीहरुले दलितका मुद्दामा चासो नदिने गरेको अनुभव सुनाए । यस्तै कार्यपालिका सदस्य रिता नेपालीले सरकारी निकायबाट विभेद न्यूनिकरणका लागि गरेको प्रयास पर्याप्त नभएको बताए। दलित समुदायबाट प्रतिनिधित्व गर्नेहरुको क्षमता माथि प्रश्न गरिने र अवसरबाट बञ्चित गराईने गरेको भन्दै दलित आयोगका ध्यानाकर्षण गराइन् ।
कार्यक्रममा दलित अगुवाहरु दिपेन्द्र परियार, दनार्दन नेपाली, अशोक विश्वकर्मा, जौमाया बराल सुनार लगायतले दलित समुदायले भोग्दै आएका विभेदका बारेमा जानकारी गराएका थिए । उक्त अन्तरक्रिया मार्फत संकलित दलित समुदायका गुनासो र सुझावलाई आयोगले अध्ययन गरि सम्वन्धित निकायलाई समाधानका लागि दवाव दिने सदस्य पुर्काेटीले बताए । दलित समुदायका न्यायका लागि संवैधानिक व्यवस्था र देशका विभिन्न स्थानमा भएको प्रयासहरुको बारेमा समेत जानकारी दिए ।