तनहुँ । उद्यमशीलताका विकासको लागि दमौलीमा रहेको युवा क्लबले युवाहरुलाई मुढा बुन्न सिकाउन थालेको छ ।
तनहुँको व्यास–४ स्थित दरै भवनमा व्यास युवा क्लबले युवाहरुलाई आत्मनिर्भर बनाउन १५ दिने मुढा बुन्ने तालिम सुरु गरेको हो ।
युवाहरुमा बढ्दो बेरोजगारी र विदेशी सामानको आयात घटाउने उद्देश्यले स्थानीय सामाग्रीको प्रयोग गरी मुढा बनाउने अभियान थालिएको क्लबका सचिव मनोज राउतले जानकारी दिए ।
उक्त तालिममा दमौली क्षेत्र आसपासका १८ देखि ४० वर्ष उमेर समूहका ४० जना युवाहरुको सहभागीता रहेको राउतले जानकारी दिए ।
तालिममा प्रशिक्षार्थीहरु लाई सुकुम श्रेष्ठले प्रशिक्षण दिने क्लबले जनाएको छ ।
आइतबार एक कार्यक्रमका बीच तालिमको उद्घाटन गर्दै क्लबका पुर्वअध्यक्ष एवम् नेपाल तरुण दल तनहुँका सहसचिव कुमार गुरुङले युवाहरुलाई सिपमुलक तालिम प्रदान गरि आत्मनिर्भर हुन प्रोत्साहन गरी क्लबले उत्कृष्ट कार्यको थालनी गरेको बताए ।
आफ्नै देशमा सामाग्री उत्पादन हुन नसक्दा विदेशीहरुको हेपाइ सहन परेको बताउदै गुरुङले यस्ता तालिमहरु बढाउदै लगे हेपाहा ब्यबहार सहनुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य हुने विश्वास व्यक्त गरे । साथै देशमा नै रोजगारी सिर्जना गरी जनतालाई आत्मनिर्भर बनाउनु आजको आवस्यकता रहेकोमा उनले जोड दिए ।
क्लबका कोषाध्यक्ष राजकुमार थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका सल्लाहकार अर्जुन श्रेष्ठ लगायतले बोलेका थिए ।